काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टीट्वान्टी विश्वकप अन्तर्गत एसियाली क्षेत्रीय छनोट प्रतियोगिताका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले प्रधाममन्त्री कप र मेयर कपमा खेलाडीले गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणमा बोलाएको हो । क्षेत्रीय छनोट प्रतियोगित नोभेम्बरमा २३ देखि २८ सम्म मलेसियामा हुनेछ ।
लामो समयपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाली टोलीको बन्द प्रशिक्षणमा अनुभवी खेलाडी बिनु बुढामगरले कमब्याक गरेकी छिन् । उनी झण्डै एक दशक नेपाली क्रिकेटबाट टाढा रहेकी थिइन । चैतमा भएको ललितपुर मेयर कप वमन्स च्याम्पियनसिपमा उनी उत्कृष्ट बलर बनेकी थिइन ।
बन्द प्रशिक्षणमा बिनुसँगै रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरले स्थान बनाएका छन ।
छनोट प्रतियोगितामा नेपालसँगै भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र यूएईले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ । यसअघि मे महिनाका लागि तय भएको छनोट प्रतियोगिता कोरोनाका कारण नोभेम्बरमा सरेको हो ।