एजेन्सी । एसी मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेको छ । सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा मिलानले साम्पडोरियालार्ई उसैको मैदानमा १–० गोलले हरायो ।
मिलानको जितमा ब्राहिम डियाजले गोल गरे । ब्राहिमले नवौं मिनेटमा डाभिड कालाब्रियाको पासमा गरेको गोल निर्णायक बनेको थियो । सिजनको पहिलो जितसँगै मिलानले तीन अंक बनाएको छ । साम्पडोरियाले हारबाट सिजनको सुरुवात गरेको छ । सोमबार रातिनै भएको अर्काे खेलमा काग्लियरी र स्पेजियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
घरेलु टोली काग्लियरीले दुई गोलले पछि परेर पनि खेललाई बराबरीमा सकेको थियो । काग्लियरीका लागि दुवै गोल जाओ पेड्रोले गरे । उनले ६२औं र ६६औं मिनेटमा गोल गरेका थिए । स्पेजियाका इमानुयल क्वार्टसिन ग्यासीले सातौं र सिमोन बास्टोनीले ५८औं मिनेटमा गोल गरेका थिए । पहिलो बराबरीसँगै दुवै टोलीले एक एक अंक बनाएका छन् ।