logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ला लिगामा फातीको पुनरागमन र एमबाप्पेको चर्चा

    ला लिगामा फातीको पुनरागमन र एमबाप्पेको चर्चा

    3.1K
    Shares

    एजेन्सी । स्पेनिस ला लिगामा दोस्रो राउन्डको खेल समाप्ति सँगै क्लबहरु तेस्रो राउन्डको तयारीमा ब्यस्त छन् । पहिलो र दोस्रो राउन्डमा बलिया क्लबहरुले नै बर्चस्व जमाए । साविक विजेता एट्लेटिको म्याड्रिड र सेभियाले शतप्रतिशत जित आत्मसाथ गरे । उपाधिको दावेदार बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले पनि अपराजित यात्रा कायम राखेका छन् ।

    सेभिया र एट्लेटिको लगातार दुई जित निकाल्दै तालिकाको शीर्षस्थानमा छ । सेभिया र एट्लेटिकोको समान ६ अंक छ । तर सेभियाले गोल अन्तरका आधारमा एट्लेटिकोलाई पछि पारेको छ । एक जित र एक बराबरी नतिजा निकालेको बार्सिलोना, रियल म्याड्रिड र भ्यालेन्सियाले समान चार चार अंक जोडेका छन् । लिगको सुरुवाती अवस्थालाई हेर्दा ला लिगाको उपाधि होड यीनै क्लबको पेरिफेरीमा घुम्ने देखिएको छ ।

    यतिबेला ला लिगामा दोस्रो चरणको नतिजाले भन्दा बार्सिलोनाका युवा स्ट्राईकर अन्सु फातीको पुनरागमन र फ्रेन्च सुपरस्टार केलियन एमबाप्पे रियल म्याड्रिड आउन सक्ने विषयले बढी चर्चा पाएको छ । बार्सिलोनाका प्रभावशाली कप्तान लियोनल मेस्सी भर्खर २१ बर्षे बार्सिलोना बसाई अन्त्य गरेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) गए । मेस्सीको बर्हिगमनपछि बार्सिलोनाको अग्रपंक्ति कमजोर हुने आँकन गरिएको थियो । बार्सिलोनामा मेस्सीको स्थान ओगट्न तयार देखिएका १८ बर्षीय अन्सु फाती गत सिजन घाइते भएका थिए । फातीको घाइते अवस्थाले बार्सिलोना चिन्तित थियो ।

    घुँडाको चोटका कारण करिव १० महिना मैदान बाहिरर रहेका फाती भर्खर बार्सिलोनाको प्रशिक्षणमा फर्किएका हुन् । लामो उपचार प्रक्रिया पूरा गरेर फाती फर्किएपछि बार्सिलोनालाई ठूलो राहत मिलेको छ । यद्यपी बार्सिलोनामा मेम्फिस डिपाए, एन्टोइन ग्रीजम्यान, मार्टिन ब्रेथवेटले अग्रस्थानमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । फातीको पुनरागमनले उत्साही बार्सिलोनाले सेप्टेम्बरदेखि उनलाई खेलाउने तयारी गर्दैछ ।

    १६ बर्षको कम उमेरमै बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका फाती गत सिजन ला लिगाकै रियल बेटिसबिरुद्धको खेलमा घाइते भएका थिए । उनलाई त्यतिबेला मेस्सीले रिप्लेस गरेका थिए । मेस्सीसँगै पहिलो रोजाईमा खेल्दै आएका फातीले बार्सिलोनाका लागि १३ गोल गरिसकेका छन् ।

    यसैबीच मेस्सी बार्सिलोना छाडेर पीएसजी गएसँगै केलियन एमबाप्पेले पीएसजी छाड्ने तयारी गरेका छन् । अघिल्लो सिजनमै रियल म्याड्रिड जाने हल्ला चलाईएका एमबाप्पेको फेरि रियल भित्रिने चर्चा सुरु भएको छ । रियल म्याड्रिडले एमबाप्पेलाई भित्र्याउने इच्छा धेरै पहिले देखि गर्दै आएको थियो । यसपटक रियलले एमबाप्पेलाई अनुबन्ध गर्न पीएसजीसामु एक सय ६० मिलियन युरोको औपचारिक प्रस्ताव गरिसकेको छ । पीएसजीले भने रियलको पहिलो प्रस्तावलाई अस्वीकार गरेको छ ।

    पीएसजीले एमबाप्पेका लागि रियलसँग एक सय ८० मिलियन युरो लिन चाहेको समाचार स्पेनिस सञ्चार माध्याम मार्काले उल्लेख गरेको छ । पीएसजीसँग एमबाप्पेको करार सम्झौता एक बर्ष बाँकी छ । उनी अर्काे समरसम्म ‘फ्री एजेन्ट’ हुनेछन् । यदि पीएसजीले एमबाप्पेबाट केही रकम प्राप्त गर्ने हो भने, यही बेला उचित मुल्यमा बेच्नुपर्ने हुन्छ । यस सिजनको समर ट्रान्सफर अगस्ट ३१ मा सकिँदैछ ।

    त्यसैले पीएसजी सकभर एमबाप्पेसँग नयाँ सम्झौता गर्न चाहन्छ । तर एमबाप्पेले पीएसजीको प्रस्तावलाई अस्वीकार गरिरहेका छन् । पाँच सिजन पीएसजीमा विताएका एमबाप्पे मेस्सीको आगमनपछि त्यति खुशी छैनन् । त्यसैले रियलले पीएसजीको चित्त बुझाएमा एमबाप्लेलाई यसै सिजन रियल जाने बाटो खुल्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend