एजन्सी । जोआक्वीन कोरेआ डेब्यु खेलमै चम्किएपछि साविक विजेता इन्टर मिलानले इटालियन सिरि ‘ए’ फुटबलमा सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले भेरोनालाई उसैको मैदानमा ३–१ गोलले हरायो ।
इन्टरको जितमा कोरेआले दुई तथा लौटारो मार्टिनेजले एक गोल गरे । घरेलु टोलीका इभान लिसको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । १५औं मिनेटमा इभान लिसले गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए । पहिलो हाफमा गोलबिहिन बनेको इन्टरले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । ४७औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि कोरेआले ८३औं र इन्जुरी समयमा दुई गोल गर्दै इन्टरलाई सान्दार जित दिलाए । लगातार दोस्रो जितसँगै इन्टर शीर्षस्थानमा उक्लिएको छ । इन्टरले दुई खेलबाट ६ अंक बनाएको छ । पराजित भेरोना अंकबिहीन बन्दै १९औं स्थानमा छ । अर्काे खेलमा उडिनेसले भेनेजियालाई ३–० गोलले हरायो । घरेलु मैदानमा उडिनेसलाई जिताउन इग्नासियो पुसेटो, जेराड डेउलोफेउ र नाहुयल मोलिनाले गोल गरे । जितसँगै भेरोनाले दुई खेलबाट चार अंक बनाएको छ । अंकबिहिन भेजेनिया अन्तिममा छ ।