एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा लिभरपुल १० खेलाडीमा समेटिएको चेल्सीसँग अंक बाँड्न बाध्य बन्यो ।
खेलमा चेल्सीले २२औं मिनेटमा खाता खोलेको थियो । चेल्सीका लागि काइ हाभर्टजले रिस जेम्सको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मोहमद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
बल बचाउने क्रममा डिबक्स भित्र चेल्सीका रेस चेम्सले ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेस सोही गल्तीमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । लिभरपुलले दोस्रो हाफमा त्यसको फाइदा उठाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो ।
बराबरीसँगै तीन खेलबाट समान सात अंक बनाएका चेल्सी र लिभरपुल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको वेस्ट हाम युनाइटेडको पनि सातनै अंक छ । शनिबार राति भएको खेलमा वेस्ट हामले क्रिस्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । वेस्ट हामसँग अंक खोस्न सफल क्रिस्टल दुई अंक सहित १४औं स्थानमा छ ।
अन्य खेलमा सिटीले आर्सनललाई ५–०, एभर्टनले ब्राइटनलाई २–० र लेस्टर सिटीले नर्बिच सिटीलाई २–१ गोलले हराएको छ । एस्टन भिल्ला र ब्रेन्टफोर्डले १–१ तथा न्युक्यासल युनाइटेड र साउथह्याम्टनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।