एजेन्सी । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) बाट डेब्यु गरेका छन् । लिग अन्तर्गत मेस्सीको डेब्यु खेलमा आइतबार राति पीएसजीले रेम्सलाई उसैको मैदानमा २–० गोलले हरायो ।
पीएसजीले मेस्सीलाई दोस्रो हाफमा मैदान उतारेको थियो । ६६औं मिनेटमा नेमारको स्थानमा मैदान छिरेका मेस्सीले गोल गर्न भने सकेनन् । पीएसजीको जितमा दुवै गोल युवा स्टार केलियन एमबाप्पेले गरे । उत्कृष्ट लयमा देखिएका एमबाप्पेले १६औं र ६३औं मिनेटमा गोल गरेका थिए ।
मेस्सीको डेब्यु खेलमा दर्शकले स्टेडियम भरिएको थियो । जारी लिगमा अपराजित यात्रा जारी राखेको पीएसजी शीर्षस्थानमा छ । पीएसजीले चार खेलबाट १२ अंक बनाएको छ । पराजित रेम्स तीन अंक सहित १७औं स्थानमा छ ।