काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित पुनलाई बुधबार थाइल्याण्ड लगिन लागिएको हो ।
पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो । नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।
पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष दाहाललगायतका नेताहरूको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्डको ब्ूमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन बुधबार बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जानेछन् । रासस