काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनलाई थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित पुनलाई बुधबार थाइल्याण्ड लाने तयारी भएको हो ।
नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।
पुनका स्वकीय सचिव सन्तोष पुनले उपचारमा संलग्न चिकित्सक र अध्यक्ष प्रचण्डलगायतका नेताको सल्लाहपछि थप उपचारका लागि उनलाई थाइल्याण्ड लाने तयारी भएको बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन बुधबार बिहानै श्रीमती पूर्वसभामुख ओनसरी घर्ती र स्वकीय सचिव पुनसँगै बैंकक जानेछन् ।
के हो पुनको स्वास्थ्य समस्या ?
नेता पुन लामो समयदेखि स्वास्थ्य समस्यमा छन् । २०७३ साल फागुनमा राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा नौ दिनसम्म उपचार गर्दासमेत उच्च ज्वरो, टाउको दुख्ने र वान्ता हुने समस्या ठिक नभएपछि नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिएको थियो ।
चिकित्सकले पुनको स्वास्थ्यमा लामो समयदेखि समस्या भए पनि ठोस उपचार विधिको निक्यौल गरेका छैनन् । सामान्यतया हरेक व्यक्तिमा जन्डिसको लेभर १.५ देखि १.८ सम्म हुन्छ तर पुनको जन्डिस लेभर ३१–३२ पुग्ने गरेको छ । सबैभन्दा पहिला भारतको अपोलो अस्पतालमा उपचार गराएका पुनको रोग पत्ता नलागेपछि नेपाल फर्काइएको थियो ।
पुनको परिवारमा जन्डिसको समस्या वंशाणुत रुपमै देखिएको चिकित्सकले बताएका छन् । उनका एक भाइको जन्डिसकै कारण मृत्यु भएको थियो । बुवामासमेत समान समस्या देखिएकाले चिकित्सकले यसालाई वंशाणुगत समस्या भनेका छन् ।
चार वर्षअघि थाइल्याण्डमा उपचार गराएर फर्किएपछि स्वास्थ्य सुधार भएका पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको हो । वान्ता हुने र ज्वरो आउने समस्या देखिएपछि उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको उनका सहयोगी दयानिधि भट्ले जानकारी दिए ।
‘अहिले उहाँ सामान्य अवस्थामा घरमै आराम गर्दै हुनुहुन्छ’, भट्टले भने, ‘स्वास्थ्य जोखिम रहेको र चिकित्सकले उपचारका लागि पुनः थाइल्याण्ड जान सुझाव दिएपछि बुधबार बिहान जाने तयारी भइराखेको छ ।’ पुन अहिले ललितपुरको खुमलटार निवासमा आराम गरिराखेका छन् ।