काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।
उनका सचिवालयले जनाए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट बुधबार बिहान उनी थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्।
पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि चिकित्सकले बैंकक लैजाने सल्लाह दिएका थिए । नेता पुनमा अस्वभाविक रुपमा जण्डिसको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।
जण्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए ।
उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ। यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए।