काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासमा ईडिभी २०२१ को नतिजा आएपछि भिसा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
दूतावासकै सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुलाई नियन्त्रणमा लिएको हो। महाशाखाका सूचना अधिकृत एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा चितवन भरतपुरका जीवन कार्की, चितवन खैरेनीका नविन दराई र रौतहट चन्द्रपुरका शिव रोक्का छन्।
अनुसन्धानका क्रममा पक्राउ मध्येका दराईसँग जीवनले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिएवापत एक लाख ७० हजार रुपैयाँ लिएको खुलेको छ । पक्राउ सबैलाई लिखतसम्बन्धी कसुरमा कारबाही गर्न महानगरीय प्रहरी परिसर टेकु पठाइएको जानकारी कोइरालाले दिए ।