एजेन्सी । यसै साता प्रेमीसँग बैबाहिक बन्धनमा गाँसिएकी जापानकी राजकुमारी माको न्युयोर्कको सिटीको सिंगल बेडरुम अर्पाटमेन्टमा बस्ने भएका छन् । विवाहलगत्तै राजकीय उपाधि गुमाएकी माकोको लामो समयदेखिका प्रेमी केही कोमुरोसँग विवाह भएको थियो । ३० वर्षीय कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।
उनीहरु बस्ने अर्पाटमेन्टको मासिक भाडा खुलाइएको छैन । तर, उनीहरु बस्ने भनिएको म्यानहटनमा एउटा बेडरुमसहितको अर्पाटमेन्टको मासिक भाडा ३ हजारदेखि ११ हजार डलर छ ।
राजकीय उपाधि गुमाएपछि जापानको दरबारले प्रदान गरेको १४ करोड यान लिन उनले अस्वीकार गरेकी थिइन् । उपाधि गुमेपछि पैसा नलिने माको जापानकै राजपरिवारको इतिहासमा पहिलो महिला हुन् । सर्वसाधरणसँग विवाह गरेकी उनले सामान्य जीवन बिताउन चाहेको उनी निकटका व्यक्तिहरुले बताउँदै आएका छन् ।
माकोले अमेरिकामा नै काम खोज्ने बताउँदै आएकी छिन् । विवाहअगाडि उनी जापानको एउटा संस्थामा आवद्ध थिइन् ।