काठमाडौं । अफगानिस्तान राष्ट्रिय टिमका पूर्व कप्तान असघर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
युएई आईसीसी टी–२० विश्वकप क्रिकेट चलिरहेका बेला असघरले सन्यास घोषणा गरेका हुन् । सुपर १२ अन्तर्गत आइतबार नामिवियाविरुद्ध हुने खेल नै अन्तिम हुने असघरले बताएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले समेत उनको सन्यासलाई स्वीकृत गरेको छ ।
नामिवियाविरुद्धको खेल खेलेमा उनले अफगानिस्तानका लागि ७५औं टी–२० खेल्नेछन् । ३३ वर्षीय असघरले एक सय १४ एक दिवसीय र ६ टेस्ट खेलेकाछन् । असघरले सन् २००९ मा स्कटल्यान्डविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
यस्तै सन् २०१८ मा अफगानिस्तानले भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दा उनी कप्तान थिए । असघर कप्तानको रुपमा सबैभन्दा बढी टी–२० क्रिकेट खेल जित्ने खेलाडी पनि हुन् । उनले ४२ खेल जितेका छन् ।