काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई स्वागत गरेका छन् । शनिबार नेपाल फर्किए लगतै आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुताइरीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउन अल्मुताइरीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रीडलाई कामय राख्दै काम गर्न आग्रह गरे । विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुताइरीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, ‘नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।’
स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुताइरीले नेपाल र नेपालीहरुको मायाँले आफु पुनः नेपाल फर्किएको बताए । आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुताइरीले नेपालले आफुलाई धेरै माया दिएको पनि बताए । शनिबार नेपाल फर्किएका प्रशिक्षक अल्मुताइरीले थप तीन वर्ष नेपाली फुटबल सम्हाल्नेछन् ।