लण्डन । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् ।
स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको कुराकानीमा नेपालमा वातावरणमैत्री जलविद्युत आयोजनामा लगानी उपयुक्त हुने बताएका हुन् ।
उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता समक्ष निश्चिन्त भएर लगानी गर्न आह्वान पनि गरे । पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युतलगायतका स्वच्छ ऊर्जाको प्रयोग गरेर दिगो विकासमा टेवा पुर्याउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
‘इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ । जलविद्युतको उत्पादन तथा प्रयोग बढाउँदै अब ऊर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ । इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्नेछौं, खाना पकाउनका लागि पनि ग्यासको सट्टा विजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत छ । एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिवद्धता गर्दछु ।’