मोगादिसु । सोमालियाका प्रख्यात पत्रकार अब्दियाजिज मोहमसद गुलेदकाे हत्या भएकाे छ । उनकाे आइतबार राजधानी मोगादिसुमा आत्मघाती वम हमलामा हत्या गरिएकाे हाे ।
सहरको रेस्टुरेन्टबाट निस्कँदै गर्दा मध्यान्हमा उनीमाथि हमला भएको बताइएको छ । उक्त घटनामा अरु दुईजना पनि घाइते भएका प्रहरीले बताएकाे छ । घाइतेहरूको अहिले अस्पतालमा उपचार भइरहेको छ । अल शबाबले यस घटना आफूले गराएको दाबी गरेको छ । अब्दियाजिज अफ्रिका नामले समेत चिनिने पत्रकार रेडियो मोगादिसुमा कार्यरत थिए ।
प्रहरीका अनुसार रेस्टुरेन्ट नजिकै एउटा कारको अगाडि आक्रमणकारीहरूले बम विस्फोट गराएका थिए । सोमाली प्रधानमन्त्री मोहमद हुसेन रोबलले घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदा प्रकट गरेका छन् । साथै उनले पत्रकार गुलेदलाई “राष्ट्रिय हिरो” को रुपमा प्रशंसा गरेका छन् ।
गुलेद विशेषगरी प्रभावशाली अन्तर्वार्ता लिने पत्रकारको रुपमा देशभर प्रख्यात थिए । उनी सशस्त्र लडाकू समूह अल शबाबको आलोचकको रुपमा पनि चिनिन्थे । सोमालियामा सक्रिय अल शबाबले भने २०१० यता ४ हजार हत्याको जिम्मेवारी लिएको छ ।