शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राप्रपाले टुंग्यायो तीन महानगरमा मेयरका उम्मेदवार

राप्रपाले टुंग्यायो तीन महानगरमा मेयरका उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकासहित केही नगरपालिकामा मेयरका उम्मेदवार टुंग्याएको छ । शनिबार दिउँसोसम्म सबै पालिकाको उम्मेदवार तोकिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

काठमाडौं महानगर नगर कमिटीले कलाकार मदनदास श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाको मेयरमा राप्रपाको ललितपुर जिल्ला अध्यक्षसमेत रहेका अष्ट महर्जनलाई उठाउने निर्णय भएको छ । पोखरा महानगरपालिकामा विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका शंकर खराललाई मेयर पदमा उम्मेदवार बनाउने राप्रपाको निर्णय छ ।

यसैगरी राप्रपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा त्यहीँका जिल्ला अध्यक्ष सागरप्रताप राणालाई, बुटवल उपमहानगरपालिकामा मृगेन्द्र शेरचनलाई, देवदह नगरपालिकाको मेयरमा माधव रिमाललाई र सैनामैना नगरपालिकामा मीनप्रसाद घिमिरेलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपाले सुदूरपश्चिमस्थित कञ्चनपुरको भीमदत्त नगरपालिकामा गजेन्द्र चन्दलाई मेयर उम्मेदवार बनाउने भएको छ । चन्द कञ्चनपुर राप्रपा जिल्ला अध्यक्षसमेत हुन् । त्यस्तै, बेलौरी नगरपालिकामा धार्मिक अभियन्ता अभिषेक जोशीलाई मेयरको उम्मेदवार बनाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई मेयरका लागि उम्मेदवार बनाउने भएको छ । उनी राप्रपाको प्रदेश १ अध्यक्षसमेत हुन् । यो एमाले अध्यक्ष केपी ओलीको गृहजिल्लासमेत हो ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा निनादेवी भेटवाललाई मेयर पदमा उम्मेदवार उठाउने राप्रपाको निर्णय छ । चन्द्रागिरि नगरपालिकामा राप्रपाले अजय श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ भने तारकेश्वर नगरपालिकामा वसन्तविक्रम बस्नेतलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

तनहुँको भानु नगरपालिकामा शेरजंग अधिकारीलाई राप्रपाले मेयर उम्मेदवार बनाउने भएको छ । तनहुँकै धिमाल नगरपालिकामा विष्णुभक्त खनाल मेयरमा उठ्नेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend