logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • वडाध्यक्षका लागि मेरो स्वतन्त्र उम्मेदवारी किन ? यस्ता छन् चुनावी एजेन्डा !

    वडाध्यक्षका लागि मेरो स्वतन्त्र उम्मेदवारी किन ? यस्ता छन् चुनावी एजेन्डा !

    11.5K
    Shares
    वडाध्यक्षका लागि मेरो स्वतन्त्र उम्मेदवारी किन ? यस्ता छन् चुनावी एजेन्डा !

    बझाङ । आगामी ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी बझाङको छबिसपाथिभेरा गाउँपालिका–७, मा नेकपा माओवादी केन्द्रको वडा कमिटीले सहमति नजनाउँदा गठबन्धन भत्किएको छ । गठबन्धनलाई भत्काएर वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बनाएका हुन् ।

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका लोकेशन्द्र सिंह धामी (निर्मल) ले समेत वडा नम्बर ७ कांग्रेसलाई दिने निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । उनकै नेतृत्वमा यसपालि वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्रबाट विजय धामी उम्मेदवार बनेका छन् ।

    उम्मेदवारी फिर्ता लिनका लागि उनलाई चर्को दबाब छ । तर, विजयले भने कुनै पनि हालतमा पनि उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । ‘उम्मेदवारी फिर्ता लिने कुनै सम्भावना छैन । सबैको साथ छ, माओवादीको टिम नै स्वतन्त्रको पक्षमा छ,’ विजयले भने, ‘उम्मेदवारी दिनु मेरो रहर नभएर यहाँका जनताको चाहना हो । म जनताको भावनाविपरीत काम गर्दिन । वडावासीकै चाहनाअनुसार मैले उम्मेदवारी दिएको हुँ ।’

    तपाइँको चुनावी एजेण्डा के–के हुन् ? यो प्रश्नमा धामीले भने, ‘मुख्यतया हाम्रो वडामा अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानीकै समस्या छ, मेरो पहिलो प्राथमिकता भनेको यी काम पूरा गरेर वडावासीलाई खुसी पार्नु हो । अहिलेको वडाध्यक्षको पालामा पनि धेरै काम भएका छन् । तर, अझै गर्नुपर्ने धेरै काम छन् । पदम मण्डेलको पालामा बाँकी रहेका काम पूरा गर्नु पनि मेरो मुख्य लक्ष्य हुनेछ । राम्रो स्वास्थ्य चौकीको व्यवस्था, युवाहरूको लागि रोजगारी सिर्जना, सडक निर्माणको कामलाई थप व्यवस्थित गर्ने मेरो एजेण्डा छ ।’

    साथै, उनले कृषि, पर्यटन, पर्यावरणको कुरालाई पनि उत्तिकै प्राथमिकता दिने बताए । ‘हाम्रो क्षेत्रले पर्यटकको आकर्षक गन्तव्य बन्ने सम्भावना बोकेको छ । यहाँका हिमाल, खोला, झरना, मन्दिरको मात्र प्रचार गर्न सक्यौं भने पर्यटनबाट मात्रै वडाको मुहार फेर्न सक्छौं,’ उनले भने, ‘पर्यटनको विकासका सबैभन्दा महत्वपूर्ण कुरा यातायात हो । हामी त्यसको लागि पनि केन्द्रसँग पहल गर्नेछौं । कृषिका लागि पनि हाम्रो क्षेत्रले धेरै सम्भावना बोकेको छ, त्यसका लागि पनि ठोस योजनाका साथ काम गर्नेछु । अहिले धेरै नभनौं । बोलेरभन्दा म गरेर देखाउन चाहन्छु ।’

    विजय गाउँमा शिक्षित र राम्रो छवि भएको युवा भनेर चिनिन्छन् । उनले बिएडसम्मको अध्ययन गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend