काठमाडौं । अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का र रविन्द्र खड्का कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
खड्का चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् । यसअघि भुवन केसी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।
२०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । रावत श्वेताका पति समेत हुन् । उनी पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ ।