१ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा एमालेले ९३६ मतका साथ आफ्नो अग्रतालाई कायम राखेको छ ।
प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको माडीको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतोले ३३६९ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार ऋषि काफ्लेले २४३३ मत ल्याएर पछ्याईरहेका छन्।
माडी नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका छन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। त्यसै गरी त्यहाँको उपमेयरमा कांग्रेसका खेम महतोले २०५१ मत पाएर अग्र स्थानमा छन् भने राप्रपाका मदन पौडेलले १४३९ र स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १५५८ मत ल्याएका छन् ।
नगरपालिका वडा नं १, ९ को गणना सकिएको छ । वडा नं १ को वडाध्यक्षमा राप्रपा उम्मेदवार र वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
यसअघि माओबादी केन्द्रले जितेको माडी नगरपालिकालाई माओबादी केन्द्रले आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएको थियो।