काठमाडौं । विवेकशील साझा पार्टीले पार्टी भित्रको उतारचढावलाई मतदाताले मन नपराएको प्रष्ट देखिएको जनाएको छ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा आउन नसकेकोमा दुख व्यक्त गरेका छन्।
हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी संगठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो, विज्ञप्तीमा भनिएको छ, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो।
हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ।
तर विवकेशील साझा पार्टीले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषणमा असहमति जनाएको छ।
ुसो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ, विज्ञप्तीमा भनिएको छ, वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो।
गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ। ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।
विवेकशील साझा पार्टीले कयौँ पार्टीहरूले पैसाको खोलो बगाएको टिप्पणी गरेको छ। साथै आफ्नो पार्टीबाट एक पैसा सहयोग नहुने अवस्थामा चुनावमा होमिएका कार्यकर्ता प्रति आभार प्रकट गरेको छ।