चितवन – पाँच दलीय गठबन्धनलाई पराजित गर्दै चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो भारी मतका साथ निर्वाचित भएकी छिन् ।
प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको चितवनको माडी नगरपालिकामा उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गर्दै महतो बिजयी भएकी हुन् ।
मेयरमा निर्वाचित महतोले नौ हजार नाै सय एक मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार सात सय २९ मत मात्रै प्राप्त गरेका थिए । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले ६ हजार आठ सय ३० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार एक सय ४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए ।
यस अघिको निर्वाचनमा माओबादी केन्द्रले जितेको माडी नगरपालिकालाई माओबादी केन्द्रले आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएको थियो। तर एक कार्यकाल उपमेयर भएर काम गरेकी ताराकाजी महतोले माओबादीको पकड क्षेत्र मात्र नभएर पांच दलीय गठबन्धन समेत तोड्न सफल भएकी छन्।
महत्तो एमालेकी शालिन र लोकप्रिय नेतृ हुन् । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गरेकी महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गरेको अनुभव छन् ।