
काठमाडौं । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् । उनले पत्रकारसँग कुराकानी गर्दै निर्वाचनमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताए ।
“विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो”, उनले भने, “जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमान्दारिता भएन ।” डा भट्टराईले गठबन्धनको धर्मअनुसार एकपटक निर्णय गरेपछि त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताए ।
गठबन्धनका दलको लोकतान्त्रिक मूल्यमान्यता र नैतिक आचारणविपरितको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको आरोप लगाए । उनले नेपालको संविधानले नै मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पारे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend