प्यूठान । प्यूठानको जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । सत्ता साझेदार दलहरुबीच गठबन्धन गर्दै कांग्रेसको नेतृत्वमा समन्वय समिति गठन भएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा गठबन्धन गर्दै समन्वय समिति गठन गरिएको हो । नयाँ गठबन्धनपछि नेपाली कांग्रेसका धरम बहादुर जिसी जिल्ला समन्वय समितिको सभापति चयन भएका छन् । सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल भएपछि समन्वय समितिमा एमालेले उमेदवारी नै दिएन ।
गठबन्धनका तर्फबाट समन्वय समितिको उपप्रमुखमा माओवादी केन्द्रकी दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएकी छन् । चुनावअघि नै गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्र र जनमोर्चाले नेपाली कांग्रेसलाई एक सदस्यसहित जिल्ला समन्वय समितिको सभापतिमा जिताउने प्रतिवद्धता गरेका थिए ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्र विजयी भएको छ । साथै माओवादीका २ जना सदस्यले पनि जिते । गठबन्धनपछि नेतृत्वमा पुगेको कांग्रेसले दार्चुलामा ऐतिहासिक जित भएको बताएको छ ।
कांग्रेसले जिल्लामा पहिलो पटक जिल्ला समन्वयको सभापति जितेको हो । २०४९ सालदेखि २०७४ सम्म विभिन्न समयमा जिल्ला सभापति र समन्वय प्रमुख जनमोर्चाले जित्दै आएको थियो ।
नेपाली कांग्रेस प्यूठानले इतिहासमै पहिलो पटक समन्वय प्रमुख जितेको नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु कुमार गिरिले बताए । ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा कांग्रेसले जित हात पारेको छ । कांग्रेस तीन प्रमुख र चार स्थानीय तहमा उपप्रमुखमा विजयी भएको थियो । यस्तै माओवादी केन्द्रले तीन पालिका प्रमुख र एक उपप्रमुखमा जितेको छ । राष्ट्रिय जनमोर्चाले एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष तथा नेकपा एमालेले दुई पालिका प्रमुख र उपप्रमुख जितको छ ।