logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ: राष्ट्रपति भण्डारी

    चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ: राष्ट्रपति भण्डारी

    5.6K
    Shares
    चुरे संरक्षणले स्थानीय जनताको जीवनस्तर परिवर्तन हुनेछ: राष्ट्रपति भण्डारी

    सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताइन । सिन्धुलीको दुधौली नगरपालिका–३ झुँगामा आज वृक्षारोपणपछि आयोजित कार्यक्रममा उनले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताइन् । विशाल सामुदायिक वन क्षेत्रमा बर र पीपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गरेकी थिइन् । सो समारोहमा सम्बोधनका क्रममा उनले जङ्गली वन्यजन्तुको बासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई-मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताइन् । तराई-मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उनको भनाइ छ ।

    चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न उनले आह्वान गरिन् । तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररुपमा बाँच्न दिनु पर्ने उनको भनाइ थियो । प्रकृति स्वच्छ भए मात्र मानव जीवन स्वच्छ हुने भन्दै उनले भनिन् ‘हामीले प्रकृतिलाई संरक्षण गर्‍यो भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ भन्ने तथ्यलाई कसैले पनि बिर्सन हुँदैन’ । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइसराइ, भौतिक पूर्वाधार विकासका क्रममा सहरीकरण दिन प्रतिदिन बढ्दो छ, यस प्रक्रियाले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई पुनः स्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्ने बेला आएको बताइन् ।

    वृक्षारोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्बन सञ्चिति, भूसंरक्षण एवं पानीको स्रोत वृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरिन् । वृक्षारोपण गरेर मात्र नभएर रोपेका बिरुवाको स्याहार र संरक्षण गर्न उत्तिकै महत्त्वपूर्ण रहेको रहेको बताउँदै उनले बिरुवा हुर्केर उत्पादन भएका वस्तु, सेवाबाट स्थानीय समुदायले लाभ प्राप्त नगरेसम्म निरन्तर संरक्षण गर्नुपर्नेमा जोड दिइन् । यसका लागि राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, नेपाली सेना, दुधौली नगरपालिका, विशाल सामुदायिक वन उपभोक्ता समिति सबैको उनले ध्यानाकर्षण गराइन् ।

    साथै सिन्धुलीको कमला नदी प्रणालीलाई आगामी पाँच वर्षभित्रमा नमूना नदी प्रणालीका रूपमा व्यवस्थापन गर्ने गरी गुरुयोजनामा समेट्न राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा पर्यावरण महानिर्देशनालयलाई उनले ध्यानाकर्षण गराइन् । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, सांसद गणेश पहाडी, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानी बासको संयुक्त आयोजनामा विशाल सामुदायिक वनको १० हेक्टर क्षेत्रफलमा वर, पीपल, आँप, कटहर जातका १६ हजार बिरुवा रोप्ने कार्यक्रम रहेको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend