logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • महिला भलिबल प्रतियोगिताको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

    महिला भलिबल प्रतियोगिताको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

    5.3K
    Shares
    महिला भलिबल प्रतियोगिताको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लव र एपिएफ क्लवले वागमती प्रदेश न्यु डायमण्ड कप खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । कीर्तिपुरको बहुउदेश्यीय कभर्डहलमा बिहीवार भएको प्रतिष्पर्धामा अपराजित रहँदै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

    उता अघिल्ला दुई खेलमा जित निकालेको एपिएफ भने बिहीवार पुलिससँग पराजित भयो । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेटमा २५–१८ को जित निकालेको पुलिसले दोस्रो सेट एपिएफलाई सुम्पिएको थियो । दोस्रो सेटमा २५–१४ दस्कोर निकाल्दै फर्किने संकेत देखाएको एपिएफले बाँकी सेटमा सम्हालिएको प्रदर्शन गर्न सकेन । नियमित स्पाईकर र केही अनुभवि खेलाडी बिना मैदान उत्रिएको एपिएफले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० गुमाउन पुगेको थियो । यससँगै लिगका सबै खेल सकिएका छन् । राउण्डरोबिन लिगको आधारमा सञ्चालन भएको खेलमा अपराजित रहँदै पुलिस शीर्ष स्थानमा अटायो भने एपिएफ दोस्रो स्थानमा रह्यो । यी दुई टोलीबीच नै उपाधि भिडन्त हुने भएको हो ।

    यस अघि बिहीवार नै सम्पन्न दिनको पहिलो खेलमा भने आयोजक न्यु डायमण्ड एकेडेमीले परोपकार गल्र्स होस्टललाई हराएर जारी प्रतियोगितामा पहिलो जित निकाल्यो । सहभागी मध्येको कमजोर देखिएको परोपकार टोलीमाथि न्यु डायमण्डले सोझो सेटमा जित निकाल्न सफल भएको हो । शुरुवातबाट नै दबाब दिएर खेलेको न्यु डायमण्डले परोपकारमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकालेको हो । प्रतियोगितामा तीन खेल खेलेको डायमण्डले एक जित र दुई हार बेहोरेको छ । अब डायमण्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिष्पर्धा गर्नेछ । खेल शनिवार हुनेछ ।

    प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधा तर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend