काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउका छन् ।
उनले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले ठूला,साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताए । उनले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताए । अध्यक्ष गोल्छाले ५० लाख शेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधरण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताए । उनले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताए । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिए ।
उनले भने,‘आगामी मौद्रिक नीतिले ठूला उद्योगी व्यवसायीहरु मात्रै नभएर साना र मझौला उद्योगी व्यवसायीहरु र ५० लाख डिम्याट खाता खालेर बसेका शेयर लगानीकर्ताहरु लगायत सर्वसाधरणको समस्या समाधान हुन्छ की हुँदैन भनेर एकदमै ठूलो चासोको रुपमा हेरिरहेका छन् । उद्योगी व्यवसायी मात्रै नभएर सम्पूर्ण नेपालीले राष्ट्र बैंकमाथि विश्वास गरिएको छ । अहिले जुन अवस्था उद्योगी व्यवसायीहरुले तरलता र तरलतासँग जोडिएर वहुपक्ष प्रभाव अर्थतन्त्रमा परेको छ यस्तो उद्योगी व्यवसायीहरुले जीवनमा पहिला अहिले पनि देखेका र भोगेका थिएनौं । पहिला पनि तरलताका समस्या थिए । तर,यति गहन,जति जटिल तरलताको समस्या अहिले भोगिरहेका छौं । यो समस्याले गर्दा बजारमा अहिले ठूलो मन्दीको स्थिति आएको छ । कुनै नयाँ लगानी आउन सकेको छैन भने अहिले राजश्वमा पनि यसको असर देखिन थालिसकेको छ । उद्योगी व्यवसायीहरु असारमसान्तमा आफ्नो ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेका छन् । यो तरलता समस्याको समाधान भएन भने नेपाल एउटा ठूलो मन्दीमा जानेछौं ।’