काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरुको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन् । बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार,सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा मन्त्री कुँवरले यस्तो बताएका हुन् । उनले अहिले अरबमा मुत्यु भएका नेपाली श्रमीकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको बताए ।
उनले अवैधानिक रुपमा अरब काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमीकको शव नेपाल ल्याउन नसकेको स्वीकार गरे । मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताए । मन्त्री कुँवरले विदेशमा मुत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएन दुवैका दायित्व भएको बताए ।
मन्त्री कुँवरले नेपाली श्रमीकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए । उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमीक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
मन्त्री कुँवरले बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार रहेको सुनाए । उनले विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउने बताए । मन्त्री कुँवरले हुण्डी तथा चोरबाटो बाट आउने रेमिट्यान्स नियन्त्रण गर्नसके रेमिट्यान्स बढ्नसक्ने बताए ।
नेपालीहरु विदेशमा विज्ञको रुपमा काम गर्ने तर नेपालमा विश्वास नगर्ने अवस्था रहेको भन्दै अब नेपाली विज्ञहरुलाई विश्वास गरेर काम गराउन जरुरी रहेको उनको भनाई थियो ।