काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद भिमदत्त पन्तको टाउको कांग्रेसले नै कटाएको आरोप लगाएका छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रममा ओलीले भने, ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन ।’
त्यसक्रममा उनले प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान दिन नसकेको टिप्पणी पनि गरेका छन् । भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेस सिरिंग हुने गरेको भन्दै ब्यङ्ग्य गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा कांग्रेसले जिम्मेवारी नलिएको र सहिद पनि नमानेको बताए । ‘उनले बम हानेका थिए भने कांग्रेसकै कार्यकर्ताका रुपमा परिवर्तनका लागि हानेका थिए । तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन,’ ओलीले भने ।
सत्ता स्वार्थका कारण कांग्रेसले विगतमा आन्दोलन गर्नेहरुलाई सम्झिँन नसकेको बताएका थिए।