logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बाबुरामको पार्टीको पहिलो बैठक आज बस्दै

    बाबुरामको पार्टीको पहिलो बैठक आज बस्दै

    5.1K
    Shares

    काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीको पहिलो बैठक आज बस्दैछ। काठमाडौंमा हुने बैठकमा विविध एजेण्डामाथि छलफल हुने पार्टीले जनाएको छ । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्ष लगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ। पार्टीका नेता विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ । उनका अनुसार केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिनका लागि शनिबार बैठक बोलाइएको छ।

    यस्तै नेता तथा कार्यकर्ताहरूको कार्यविभाजनसम्बन्धी पनि निर्णय गर्ने तयारी छ। बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ। ‘पार्टीको आन्तरिक विषय र आगामी चुनावबारे रणनीतिबारे छलफल हुनेछ,’ उनले भने। यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ। यसैबीच सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन्। यो निर्णय गर्दा जसपा छाडेर नेपाल समाजवादी पार्टी गठन गर्न जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भने छुटेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पहिलो पटक विघटन गरेदेखि नै भट्टराई पाँच दलीय अहिलेको गठबन्धनसँग नजिक छन्।

    जसपाको उपेन्द्र यादव पक्षले संघीय परिषदबाट हटाएसँगै भट्टराई सत्ता गठबन्धनका बैठकमा देखिएका छैनन्। पाँच दलले अबको चुनावमा सँगै जाने निर्णय गरे पनि यो मोर्चामा अरू दललाई थप गर्ने वा नगर्नेबारे अहिले बताइसकेका छैनन्। भट्टराईनिकट नेता विश्वदीप पाण्डेका अनुसार बाबुराम सत्ता गठबन्धनमै छन्। ‘पार्टी गठन लगायतका आन्तरिक विषयमा व्यस्त हुँदा उहाँ सत्ता गठबन्धनका बैठकहरूमा सहभागी हुन पाउनुभएको छैन,’ उनले भने, ‘हामी सत्ता गठबन्धनमै छौं, इतरतिर होइन।’

    उनले बाबुराम फेरि गोरखा क्षेत्र नम्बर २ मा चुनाव लड्ने तयारीमा रहेको जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend