शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता होः झाँक्री

पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता होः झाँक्री

 

काठमाडौं । एकीकृत समाजवादी पार्टी गठन भएको एक वर्ष पुगेको छ । नेकपा एमालेबाट विद्रोह माधव नेपालको नेतृत्वमा गठन भएको सो पार्टी ०७८ भदौ २ गते निर्वाचन आयोगमा दर्ता भएको थियो ।

एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन् । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको स्मरण गर्दै आफ्नो निर्णय लिन सधै स्वतन्त्र हुने बताएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘गत वर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधवकुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतीपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो।

स्वभावैले मैले मेरो निर्णय लिँदा दाँया–बायाका मेरा आफ्ना राजनीतिक अभिभावक छाडेर आएको दिन थियो। सामान्यतः म मेरो निर्णय लिन सधैँ स्वतन्त्र नै हुन्छु। राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन्। स्वतन्त्रता यानेकी आजादीको त्यही प्यासनले होला, जोखिम मोल्न र चुनौतीपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्।

हो हाम्रो विद्रोह त्यही थियोः संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपलब्धिको रक्षा गर्न, यो राजनीतिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहनाअनुसार सञ्चालन गर्न ।

आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो।आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ। गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गति दिन, संविधानलाई सही मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ।

आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो।

बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार–विचार आएको देख्छु। यो कुरा गलत हो। देशैभरिका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनसमेत अनुरोध गर्न चाहन्छु।

आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो। यो अवसरमा सबै कमरेडहरू, साथीहरूप्रति हार्दिक शुभकामना।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend