बुटवल । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अन्तिमपटकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने बताएका छन् । आसन्न निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ बाटै प्रतिस्पर्धा गर्ने उनले बताए ।
आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग नेता खनालले गठबन्धनमार्फत आउँदो मंसिर ४ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
‘चुनाव नलड्ने चर्चा छ नि ?’ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, “जनतासँगको माया–पिरती टुटेको छैन । ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एकपटक लड्छु ।”
उनले आफूू इलाम–१ बाट विजयी हुने विश्वास समेत व्यक्त गरे । पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए । “गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,” उनले भने, “एकतामै बल हुन्छ । एक्लो ढेडुको असफलता अनिवार्य छ ।”