logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनीका दलहरु निर्वाचनको तयारीमा

    लुम्बिनीका दलहरु निर्वाचनको तयारीमा

    5.2K
    Shares
    लुम्बिनीका दलहरु निर्वाचनको तयारीमा

    रुपन्देही । तिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।

    नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसवादी दलहरु अहिले आन्तरिक तयारीमा लागेका हुन् । राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका साथै साना एवं स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका नेताले पनि निर्वाचन क्षेत्रमा चुनावी गतिविधि सुरु गरेका छन् । चोक–चोकमा निर्वाचनसम्बन्धी चर्चा सुरु भएको छ ।

    पाँच दलीय गठबन्धनमा रहेका दलहरु प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा छन् भने गठबन्धन दलविरुद्ध एमाले एक्लै चुनावी मैदानमा जाने तयारीमा छ । लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाएर जाने तयारी भएको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन बताउँछन् ।

    आगामी निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार बनाएर निर्वाचनमा जाने उनको भनाइ छ । “हामीले बैठकबाटै आसन्न चुनावमा गठबन्धन गरेर जाने र साझा उम्मेदवार बनाउने निर्णय गरेका छौँ । त्यसका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत प्रतिवेदन तयार गरी छलफल गर्ने भनेका छौँ”, उनले भने ।

    निर्वाचनको तयारीका लागि स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्माण गरिएका प्रदेश र जिल्ला तहका संयुक्त संयन्त्र पुनः क्रियाशील बनाएर बैठक भेला आयोजना गर्ने गठबन्धन दलको तयारी छ । निर्वाचनको मिति तय भएसँगै नेकपा (एमाले) पनि तयारीमा जुटेको छ । एमाले पराजयबाट पाठ सिक्दै आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने रणनीति बनाउँदै छ ।

    प्रशिक्षणका साथै भेला र बैठक आयोजना गरिएको एमालेका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ बताउँछन्। एमालेले पहिलो चरणमा प्रदेश र जिल्लास्तरका प्रशिक्षण कार्यक्रम गरेको छ । निर्वाचनमा पार्टीका एजेन्डा जनतामाझ कसरी लैजाने भन्ने विषयमा नेता तथा सङ्गठनका प्रमुखलाई प्रशिक्षण दिइएको श्रेष्ठले बताउनुभयो । एमालले जनताका गुनासा र सुझाव लिने काम गरिरहेको छ ।

    गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्धारित २६ निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend