काठमाडौं । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीवार (आज) अपरान्ह घरेलु टोलीसँग पहिलो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको आतिथ्यता गर्न लागेको हो ।
खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । साथै युवा र नयाँ खेलाडीले भरिएको टोलीलाई केन्या भ्रमण एक्स्पोजरको रुपमा पनि हेरिएको छ भने पहिलो भ्रमणमा निस्किएका प्रशिक्षक मनोज प्रभाकारको पनि अग्नि परीक्षाको रुपमा हेरिएको छ ।
पाँच खेलको टी–ट्वान्टी सिरिका लागि केन्या पुगेको नेपाली टोली आज सुखद् शुरुवातको योजनामा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले बुधवार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन् । वरियताको ३० औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ । पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ । तर, केन्या पनि नेपाललाई हराएर सुखद् शुरुवातको योजनामा रहेको छ । केन्याका कप्तान शेम एनगोचेले नेपाललाई हराएर वरीयता सुधार गर्ने योजनामा रहेको बताए ।
पाँच खेलको सिरिज अन्तर्गत दोस्रो ट्वान्टी–२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौथो भदौ १३ गते र पाँचौ तथा अन्तिम ट्वान्टी–२० भदौ १४ गते हुने तालिका रहेको छ । ट्वान्टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।