logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • रूपन्देहीमा १५ हजारभन्दा बढी मतदाता थपिए

    रूपन्देहीमा १५ हजारभन्दा बढी मतदाता थपिए

    10.9K
    Shares
    रूपन्देहीमा १५ हजारभन्दा बढी मतदाता थपिए

    भैरहवा ।  रूपन्देहीमा डेढ महिनामा १५ हजारभन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नामावली दर्ता खुलेसँगै मतदाता जागरुक भएका हुन् ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि खुला गरेको मतदाता नामावली दर्ता र अध्यावधिकबाट रूपन्देहीमा मात्रै १५ हजार एक सय २२ जना थपिएका छन् । स्थानीय तह निर्वाचनअघि १८ वर्ष उमेर पूरा गरेका तीन लाख २३ हजार सात सय ७८ पुरूष, तीन लाख आठ हजार पाँच सय ७४ महिला र आठ जना तेश्रो लिङ्गी गरी रूपन्देहीमा जम्मा मतदाता ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता रहेका थिए ।

    स्थानीय तहको निर्वाचनपछि सात हजार आठ सय ९४ पुरुष, सात हजार दुई सय २८ महिलाले नाम दर्ता गराएको थिए, जसअनुसार ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रूपन्देहीको छ ।

    देशव्यापी रुपमा निर्वाचन कार्यालय, प्रशासन कार्यालयहरूबाट मतदाता नामावली दर्ता हुँदै आएको थियो । मतदानबाट बञ्चित हुने डरले नागरिक उत्साहका साथ नामावली दर्ता गराएका छन् । असार महिनादेखि सुरुआत भएको नामदर्ता १९ साउनसम्म चलेको थियो । यो समयावधिमा एक हजार ७७ जनाले वाह्य जिल्लाबाट पनि रूपन्देहीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

    ‘हामीले कार्यालयबाट, जिल्ला प्रशासन कार्यालय रूपन्देही, इलाका प्रशासन कार्यालय मझगावा र इलाका प्रशासन कार्यालय बुटवलबाट दर्ता गरिरहेको थियौ । अधिकांश नयाँ दर्ता र केही त्रुटि सच्याउने, ठाउँसारीका नाम दर्ताका लागि आएका हुन् । यसका साथै वाह्य जिल्लाका पनि केहीले यहीबाट नाम दर्ता गराएको निर्वाचन कार्यालय प्रमुख अयोध्या भण्डारीले बताए ।

    छोटो अवधिमै उत्साह जनक रुपमा मताधिकार प्रयोग गर्न नागरिकहरू निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा नाम दर्ता गराउन आएको निर्वाचन अधिकारी भण्डारीले भने ।

    कार्यालय प्रमुख भण्डारीका अनुसार पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा ११ लाख १८ हजार ९ सय ७५ देखिए पनि त्यसको ६०–६५ प्रतिशत मतदाता हुनपर्छ भन्ने सर्वमान्य सिद्धान्त छ, त्यसैलाई अंगीकार गर्दै निर्वाचन कार्यालयले काम गरिरहेको बताए ।

    मतदाता नामावली अद्यावधिक एवं दावी विरोधको कार्यक्रम १२ देखि १९ भदौ सम्म रहनेछ । मतदाता नामावलीमा दोहोरो नाम परेका मतदाता, विवरण हटाउने एवम् त्रुटिहरू सच्याउनु पर्ने मतदाता यस अवधिमा आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर त्रुटिहरू सच्याउन सक्नेछन् । ३ मंसिर २०७९ सम्ममा मतदाननयोग्य १८ वर्ष उमेर पूरा भएका मतदाताको नामावली समावेश गरी तयार पारिएको अन्तिम मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा प्रकाशन गरिनेछ । उनीहरू नै मतदान गर्न योग्य रहने छन् । १६ वर्ष उमेर पूरा भएकोले नामावली दर्ता गराउन पाउछन् ।

    १६ पालिका रहेको जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले ४ मंसिर हुने निर्वाचनको लागि जिल्लामा मतदान स्थल दुई सय आठ वटामा सात सय १७ मतदान केन्द्र हुने अनुमान छ । रुपन्देहीका आठ वटा मतदान स्थललाई परिवर्तन गरि अन्यत्र सार्न सिफारिस गरिएको छ । समितिले सिफारिस गरेकै स्थललाई आधार मानेर स्थल तय गरे पनि मतदान केन्द्र भने अद्यावधिक पछि आएको मतदाताको सङ्ख्यालाई आधार मानेर तय हुन्छ ।

    कुन निर्वाचन क्षेत्रमा कति मतदाता
    पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेश सभाको लागि आगामी निर्वाचन हुँदैछ । ६ लाख ४७ हजार चार सय ८२ जना मतदाता रहने अनुमान निर्वाचन कार्यालय रूपन्देहीले गरेको छ । कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ मा एक लाख ४१ हजार पाँच सय नौ जना मतदाता रहेका छन् जसको ‘क’ मा ७३ हजार तीन सय २७ र ‘ख’ मा ६८ हजार एक सय ८२ जना मतदाता रहेका छन् ।

    क्षेत्र नम्बर २ को ‘क’ मा ६४ हजार चार सय ५२ र ‘ख’ मा ६४ हजार दुई सय २५ गरी एक लाख २८ हजार ६ सय ७७ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र ३ को ‘क’ मा ६६ हजार तीन सय ३१ र ‘ख’ मा ६८ हजार चार सय ३३ गरी ‘१’ लाख ३४ हजार सात सय ६४ मतदाता रहेका छन् ।

    यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा ५३ हजार नौ सय ९१ र ख मा ५८ हजार ७० गरी कुल एक लाख १२ हजार ६१ मतदाता क्षेत्र नम्बर ४ मा रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ५ को ‘क’ मा ७५ हजार पाँच सय २८ ‘ख’ मा ५४ हजार नौ सय ४३ गरी एक लाख ३० हजार चार सय ७१ मतदाता रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend