
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको बताए । उनले देश गम्भीर आर्थिक शंकटमा रहेको कुरा देश हरेक कुरामा परनिर्भरतामा रहनुले पुष्टि हुने बताए । उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिएपनि अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे । अध्यक्ष दाहालले देश आत्मनिर्भरता र सबलताको दृष्टिकोणले झनै कमजोर बनिरहेको उल्लेख गरे । उनले नेपालको अर्थतन्त्रलाई उकासेर अघि बढ्न जरुरी रहेको पनि बताए ।
उनले भने, ‘उद्योग व्यवासायी साथीहरुसँग म आज विशेष रुपले अपिल गर्न चाहन्छु, तपाई र हाम्रो काँधमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने, त्यसको नेतृत्व गर्ने, देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको बाटोमा डोर्याउने, परनिर्भरताको स्थिति भयानक छ, हाम्रो यस क्षेत्रमा राम्रो दक्षता हासिल गर्नुभएको कुरा राख्नुभएको छ, हामीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने काममा हाम्रो आर्थिक क्षेत्र अघि बढ्नुपर्छ भन्ने गरिन्छ । तर अपेक्षित प्रगति भइरहेको छैन । हामी ६० वर्ष अघि खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएनौँ । खाद्यान्न निर्यात गर्दथ्यौँ । हामी यत्ति धेरै प्रगति भयो भन्छौँ तर आत्मनिर्भरताको दृष्टिकोणले, सबलताको दृष्टिकोणले हामी झन कमजोर भएर गएका छौँ । हामीले खाद्यान्न आयात गर्नुपर्ने स्थिति छ । सागशब्जीदेखि, माछामासु, चाडपर्वमा आवश्यक पर्ने घरघरमा बन्ने सामान पनि विदेशबाट आायत गर्नुपर्ने अवस्था छ । नेपालको पहिचान गुन्द्रक पनि विदेशबाट ल्याउने भनेपछि हाम्रो आर्थिक अवस्था कति गम्भीर र जटिल छ भन्नेकुरा यसले स्पष्ट देखाएको छ । यसलाई बदल्नु छ, यसलाई बदल्ने कुरा सजिलो रहनेछ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend