शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रचण्डले मलाई नै भष्म पार्न खोजेः अध्यक्ष ओली

प्रचण्डले मलाई नै भष्म पार्न खोजेः अध्यक्ष ओली

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बिहीवार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिएपनि आफूलाई छुरी रोपेको आरोप लगाए ।

उनले पार्टी एकता गरी बामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दापनि साधारण सदस्यबाट नै हटाएको बताए । उनले माओवादी अध्यक्ष दाहाललाई विषालु दाँतको संज्ञा दिए । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छोडेर गएको बताए । उनले आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताए । उनले गठबन्धन शब्दबाट अहिले आम नागरिकहरु आजित भएको बताए । उनले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी, र आफ्ना स्वार्थमा कुदेको गबठन्धनको संज्ञा दिए । उनले अहिलेको गठबन्धनको हैसियत एमालेसँग सिधा हेर्नसक्ने नरहेको बताए । उनले आगामी निर्वाचनमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पनि पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले भने, ‘हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्न मन नलाग्ने भइसक्यो । बिहानै गबठन्धन, दिउँसो गबठन्धन, देश बिगार्ने गठबन्धन, लोकतन्त्र सिध्याउने गबठन्धन, भ्रष्टाचारलाई गर्ने र प्रश्रय दिने गठबन्धन, नातावादी गठबन्धन, आफन्तवादी गठबन्धन, परिवारवादी गठबन्धन, आफ्ना स्वार्थमा कुदेको गबठन्धन । यो गठबन्धन यति कमजोर छ, एमालेतिर गठबन्धनको कुनै हस्ती हुँ भन्नेहरु एमालेसँग लड्ने आँट गर्छ ? मैले धेरै केही भन्नुपर्दैन ।

अहिले नेकपा एमालेमा प्रवेशको लहर छ । स्थानीय तहमा ३८ लाख भोट ल्यायौँ, त्यो केही होइन, अब छोडिदिनुहोस्, ५० लाख कम्तिमा पु¥याउनुपर्छ । प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ । निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔँ, बलियो वामपन्थी आन्दोलन बनाऔँ, बलियो कम्युनिष्ट पार्टी बनाऔँ, समाजवादतर्फ अघि बढाऔँ, एकतावद्ध भएर अघि बढाऔँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ । प्रचण्डलाई मैले मानसम्मानपूर्व मेरो सिटको छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔँ भनेको थिएँ ।

मैले अँगालो हालेको थिएँ प्रचण्डलाई हात मिलाएको मात्रै होइन, तर प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म अलि होशियार त थिएँ, नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्म छुरी रोपे । म पार्टी एकता जोगाऔँ भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाट नै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु । कस्तोसँग मैले एकता गरेको रहेछु । एकता अभियानको लागि मैले दिएको बहुमत, मैले दिएको वरदान मेरै टाउकोमा हात राखेर मलाई नै भष्म पार्न खोज्ने ? कत्रो धोका, कत्रो बेइमानी । आन्दोलन धोकाबाट हुन्छ ? नेकपा माओवादी केन्द्र त पहिल्यै एमालेसँग मिलिसक्यो अहिले गएको त पुष्पकमल दाहाल प्रचण्ड गुट मात्रै हो ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend