logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • नेपालको अस्थिरताको जड नै माओवादी हो : दिनेश कोइराला (भिडिओसहित)

    नेपालको अस्थिरताको जड नै माओवादी हो : दिनेश कोइराला (भिडिओसहित)

    7.6K
    Shares
    नेपालको अस्थिरताको जड नै माओवादी हो : दिनेश कोइराला (भिडिओसहित)

    काठमाडौं– प्रतिनिधि सभा तर्फ चितवन ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले नेपालको अस्थिरताको जड नै नेकपा माओवादी केन्द्र भएको बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीमा कोइरालाले जबसम्म माओवादीको स्थायी व्यवस्थापन हुँदैन तबसम्म देशको विकास नहुने बताएका हुन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका कोइरालाले चितवनमा नेपाली कांग्रेस बचाउनका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले माओवादीका कारण अहिलेको गठबन्धन नै ध्वस्त हुने खतरा बढेको समेत बताए । देश र जनताको चाहना एकातिर र सरकारको ध्यान अर्कोतिर रहेको भन्दै उम्मेदवार कोइरालाले कांग्रेसले सत्ताको मोह त्यागेर अघि बढ्नुको सट्टा झन बेथितिलाई बढावा दिँदै गएको समेत जिकिर गरे ।

    चितवन ३ मा गठबन्धनको तर्फबाट माओवादीलाई टिकट दिएपछि असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेद्वारी दिएका कोइरालालाई एमालले समर्थन गरेको छ ।

    कोइरालाले भने एमाले प्रवेश गर्ने अस्वीकार गरेका छन् । चुनाव पछि एमाले प्रवेश गर्ने तयारीमा हो भन्ने प्रश्नमा कोइरालाले भने, ‘समर्थन गर्दैमा सोही पार्टीको हुँदैन । डडेल्धुरामा कर्ण मल्ललाई एमालेले समर्थन गरेको छ । के कर्ण एमाले हुन् ?, घनश्याम भुषाललाई गठबन्धनले सहयोग गरेको छ के उनी माओवादी, कांग्रेस भए ? एमालेले समर्थन गर्‍यो भन्दैमा म एमाले हुने होइन ।’

    कोइरालाले पार्टी मुल्य र मान्यता अनुसार चल्नुपर्नेमा गठबन्धनका नाममा चितवनमा कांग्रेस सक्काउने खेल विरुद्ध आफुले उम्मेदवारी दिँदा अर्को पार्टीको कसरी हुन्छ भनेर उल्टै प्रश्न गरे । उनले गठबन्धनले इमान्दार कार्यकर्ता छोडेर परिवारवाद, धनवाद र डनवादको पछि लागेर टिकट बाँडेको आरोप लगाए । ‘कांग्रेसमा कति योग्य कार्यकर्ता छन् तर गठबन्धनको नाममा श्रीमती, छोरा, बुहारी भान्जा भान्जी, नातेदार, धनवाद र डनवादलाई मात्रै टिकट वितरण गरिएको छ,’ उनले भने ।

    कोइरालाले एमालेलाई प्रतिगमन र गठबन्धनलाई अग्रगमन भनिएको बारे टिप्पणी गर्दै कांग्रेसले आफुलाई अनुकुल हुँदा अग्रगमन अनि आफुलाई प्रतिकुल हुँदा प्रतिगमन भनेको समेत बताए । ‘जतिबेला नेकपाको सरकार थियो केपी ओलीले संसद विघटन गर्दै गर्दा हाम्रै सभापति शेरबहादुर देउवाले अब निर्वाचनमा जानुपर्छ भन्नु भएको हैन,’ कोइरालो प्रश्न गरे, ‘निर्वाचनमा जाँदै गर्दा पार्टी सभापतिलाई अग्रगमन भयो, अनि ८–१० दिन पछि संसद पुनर्स्थापना भएर प्रधानमन्त्री भएपछि कसरी प्रतिगमन भयो त रु’

    दलहरु चुनावमा एक्लाएक्लै लडेर सरकार बनाउने बेलामा गठबन्धन गर्दा राम्रो हुने उनको तर्क छ । यदि यसो गरेमा सो गठबन्धन विकास र निकासका लागि हुने उनले बताए ।

    प्रचण्डले चितवन छोडेको प्रसङ्गमा उम्मेदवार कोइरालाले चितवन ३ मा माओवादी तेस्रो बरियतामा रहेकाले चुनाव जित्न गाह्रो हुने देखेर प्रचण्ड गोरखा बसाइँ सरेको टिप्पणी गरे ।

    कोइरालाले चुनावमा पैसाले भोट किन्नेदेखि सचेत रहन समेत मतदातालाई आग्रह गरेका छन् । ‘जुन उम्मेदवारले पैसा बाँड्छ त्यो नेता मतदाताप्रति उत्तरदायी हँदैन,’ उनले भने, ‘चुनावका बेला जसले पैसा दिन खोज्छ त्यस्तो नेतालाई खबरदारी गर्ने हो । उनीहरुले बाँड्ने पैसा भ्रष्टाचार गरेर कमाएको पैसा हो, सकेसम्म नलिनु यदि लिए पनि पैसा दिनेलाई भोट नदिनु ।’ उनले आफुसँग पैसा नभएको र पैसाले मत नबटुल्ने बताए ।

    चितवन ३ मा गठबन्धनले माओवादीका डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ भने कोइरालालाई एमालेको समर्थन छ । यस्तै कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    कोइरालासंग गरिएको कुराकानीको भिडियो 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend