काठमाडौं । नेपाली चलचित्र बगानको शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सोमवार चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा चलचित्र निर्देशक एवं नायक सरोज खनालले चलचित्रमा वधुवा महिला आमा को पनि विवाह गर्नुपर्छ भन्नेकुरा उठाएको
बताए । अल्पायुमा नै श्रीमतीको देहावसान भएपछि श्रीमानलाई बाँकीको जीवन बिताउन अर्को जीवन साथीको खाँचो भएझैँ महिलालाई पनि अर्को जीवनसाथीको खाँचो हुनेकुरा चलचित्रमा रहेको अभिनेता खनालेले बताए ।
उनले अहिले विधुवा पुरुषको कथा रहेको चलचित्र महापुरुषले सिने क्षेत्रमा तहल्का पिटेको उल्लेख गर्दै महिला विधुवाको कथालाई पनि दर्शकले मन पराइदिने विश्वास व्यक्त गरे । त्यस्तै अग्रज कलाकार वसुन्धरा भुसालले दर्शकहरुले यो चलचित्र मन पराइदिने विश्वास व्यक्त गरे । उनले चलचित्रले समाजमा महिलालाई परेको दुःखलाई
देखाएको बताए । चलचित्रमा महिलाको हक, अधिकार र वेदनालाई समेटिएको जिकिर गरे ।
त्यस्तै अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताए । चलचित्रले सामाजिक कुरीति विरुद्ध एउटा सशक्त आवाज उठाएको उल्लेख गरे । त्यस्तै नायिका करिष्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गरिन् । आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांकन गर्ने गरेको दुःखेसो गरिन् ।
चलचित्र बगानमा भने आफूले अभिनयबाट चिनिने मौका पाएको उनले बताईन् । सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।