logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • संविधानको रक्षा माओवादीले नै गर्छ : प्रचण्ड

    संविधानको रक्षा माओवादीले नै गर्छ : प्रचण्ड

    5.2K
    Shares
    संविधानको रक्षा माओवादीले नै गर्छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्न माओवादीको बढी जिम्मेवारी रहेको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए ।

    मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए । मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी बताए । ‘हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ’, उनले भने, ‘नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।’ निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो ।

    मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे । ‘म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो’, अध्यक्ष दाहालले भने, ‘यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।’

    आर्थिक विकास र पूर्वाधारका दृष्टिले गोरखा जिल्ला उपयुक्त रहेको आफूले पाएको जनाउँदै उनले बूढीगण्डकी परियोजना तथा उत्तरदक्षिण सडक सञ्जालको विकास गरेर गोरखाको उन्नतिमा गुणात्मक फड्को मार्न सकिने बताए । ‘गोरखाली जनताको प्रमुख माग सडक निर्माण र स्तरोन्नति रहेको मैले पाएँ, गोरखकाली रबर उद्योग सञ्चालन गरेर ठूलो सङ्ख्यामा रोजगारी उपलब्ध गराउने सम्भावना छ’, उनले भने, ‘उपल्लो क्षेत्रमा जडीबुटी तथा ठूला फाँट एवम् टारमा कृषि क्रान्तिको ठूलो सम्भावना छ ।’

    आगामी निर्वाचनमा दुई विचार, प्रवृत्ति, संस्कृति र गठबन्धन आमनेसामने भएको उल्लेख गर्दै उनले प्रतिगमनकारी गठबन्धनलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend