काठमाडौं । कलाकारहरुले आसन्न निर्वाचनमा शारीरिक अशक्त, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिमैत्री निर्वाचन केन्द्र निर्माण गर्न नर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
सोमवार निर्वाचन आयोगले कलाकारहरुसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना धारणा राख्दै कलाकारहरुले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आयोगले शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई ध्यानमा राखेर निर्वाचन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।
कलाकारहरुले आयोगले ४ किसिमका मतपत्र छापेको र त्यसमा आम नागरिकहरु झुक्किनसक्ने सम्भावना बढी रहेकाले मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभइ खबरदारी कर्ता पनि भएकाले खबरदारी कर्ताको रुपमा प्रश्तुत हुन अनुमति दिनुपर्ने माग गरे ।
उनले मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरुमा बुझाउनुपर्ने बताए । कलाकार गजुरेलले निर्वाचनलाई पर्वको रुपमा मान्नुपर्ने र सकेसम्म नकारात्मक प्रचारप्रसार गर्न नहुने जानकारी दिए ।
त्यस्तै अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए । उनले कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेता फैलाउन सहयोग पुग्ने जानकारी दिए ।
उनले गत स्थानीय तहको निर्वाचनमा अशक्त, असहाय, व्यक्तिहरु र फरक क्षमता भएका व्यक्तिहरुलाई भोट दिन जाँदा उचित व्यवस्थापन नगरेका दृश्यहरु देखिएको भन्दै निर्वाचन केन्द्रहरु शारीरिक अशक्ततामैत्री बनाउन आग्रह गरे ।
त्यस्तै अर्का कलाकार दीपक आचार्यले विगत केही समय यता ठूला दलका नेताहरुले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ की हुँदैन भनेर प्रश्न गरेका थिए । उनले ‘बिना ढेवाके विदेश पठाइदिन्छु’, ‘हेलिकप्टर लिएर प्रचारप्रसार गर्न आउनेहरुलाई भोट दिनुहोस्’ जस्ता अभिव्यक्ति दिने नेताहरुप्रति आयोगको ध्यानाकर्षण भएको छ वा छैन भन्नेबारेमा जिज्ञासा राखेका थिए । उनले निर्वाचन आयोगले कलाकारहरुसँग समन्वय गरेर अघि बढे मतदाता शिक्षासहित निर्वाचन प्रचारप्रसारका गतिविधिहरु जनतामाझ पुग्न सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै कलाकार दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाव दिइन् । उनले मतदाताहरुलाई निर्वाचन मतदाता शिक्षामुलक सूचनाहरु प्रशारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने बताइन् ।
कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे । उनले निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले सोच्नुपर्ने बताए ।
अर्का कलाकार राजा राजेन्द्र पोखरेलले निर्वाचन के हो भन्नेकुरा आम नागरिकसामु आयोगले बुझाउन नसकेको महशुस गरेको बताए । उनले भोट किनबेच हुनेकुरा धेरै सामाजिक सञ्जालमा आइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराएका थिए ।