logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • असन्तुष्ट नेता कार्यकर्तासँग धनगढीमा भेटघाट गर्दै प्रधानमन्त्री देउवा

    असन्तुष्ट नेता कार्यकर्तासँग धनगढीमा भेटघाट गर्दै प्रधानमन्त्री देउवा

    2.4K
    Shares
    असन्तुष्ट नेता कार्यकर्तासँग धनगढीमा भेटघाट गर्दै प्रधानमन्त्री देउवा

    धनगढी । धनगढीस्थित आफ्नो निजी निवासमा रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन् ।

    आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले निवासमा नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफललाई तीव्रता दिएका छन् । चुनावी प्रचारका लागि आफ्नो गृह जिल्लामा भएका सभामा सहभागी भएर आइतबार धनगढी फर्किएका प्रधानमन्त्री देउवाले खासगरी टिकट वितरणपछि असन्तुष्ट नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । भेटघाटका क्रममा देउवाले आसन्न चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका छन् ।

    देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निस्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गरेको कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए । उनले भने,’सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भन्नुभयो, मैले धेरै अगाडि बढिसकेकाले चुनाव लड्न दिनुस् भनेँ ।’

    जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट कांग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवार छन् । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर साउदलाई टिकट दिएको छ ।

    कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को प्रतिनिधिसभा सदस्यमा कांग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छन् । पाँच वर्षअघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेकी कांग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तरघात गरेर पराजित गरेको भन्दै कांग्रेसका नेता रहेका ओझा पार्टीको कारबाहीमा परेका थिए ।

    अहिले ओझाको पक्षमा कतिपय नेता कार्यकर्ता लागेपछि पार्टी सभापति देउवाले नेता कार्यकर्तालाई मनाउने कोसिस गरिरहेका छन् । क्षेत्र नं ५ कै प्रदेशसभा (२) मा कांग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रबाट कांग्रेसका युवा नेता क्षितिज भण्डारीले पार्टीबाट राजीनामा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    यसैबीच प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend