काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया गरेको थियो ।
अस्पतालको १७औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष डा गोपालप्रसाद पोखरेलले गत आर्थिक वर्षमा अस्पतालले एक लाख ३२ हजार ४३३ बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिए ।
उनले अस्पतालले विश्वमा प्रयोग भएका अत्याधुनिक नवीनतम प्रविधिको प्रयोगद्वारा उपचार सेवा पु¥याएकाले पछिल्लो समय बिरामीको रोजाईमा नेपाल आँखा अस्पताल पर्दैआएको बताए ।
अस्पतालमा हाल १४ जना नेत्र विशेषज्ञसहित ११८ जना जनशक्ति कार्यरत रहेको र दैनिक सरदर सात सय बिरामीलाई सेवा पुर्याउँदै आएको छ ।
काठमाडौँ उपत्यकाभित्र अस्पतालले टोखा, खोकना, मूलपानी र थानकोट तथा उपत्यका बाहिर बाराको सिमरा र गोर्खाको भच्चेकमा आँखा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । पछिल्लो समय अस्पतालले स्थान अभावकाकारण बिरामीको चाँप धान्न र शुद्ध–सफा पानीको आपूर्तिमा देखिएको समस्या सम्वोधन गर्न विभिन्न विकल्पको खोजि गरिरहेको छ ।
अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन गरेको आठ सर्जिकल शिविरमा चार हजार ८६१ को आँखा परीक्षण गरेकोमा त्यसमध्ये सात सय ७९ को शल्यक्रिया गरिएको जानकारी दिएको छ ।
त्यस्तै मुलुकका विभिन्न स्थानमा सञ्चालन गरिएका १७ वटा ‘स्क्रिनिङ’ शिविरमा पाँच हजार नै सय ६० को आँखा परीक्षण गरिनुका साथै ४४ जनाको शल्यक्रिया भएको थियो ।
बालाजु स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यमा अस्पतालले नेत्र सहायक कोष सञ्चालन गरी वार्षिकरुपमा ७४ जना जनशक्ति उत्पादन गर्दैआएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन भइरहेका कार्यक्रमबाट एमडी हालसम्म ५७ पुरा गरेका छन् भने बी अप्टोमेट्री कोर्षमा २३ अध्ययनरत रहेको सचिव मेघराज गजुरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालले उक्त आर्थिक वर्षमा विभिन्न सेवा प्रदान गरेवापत १७ करोड २७ लाख ७७ हजार २३२ आम्दानी तथा सेवा प्रदान गर्ने सिलसिलामा १४ करोड ८९ लाख ४३ हजार खर्च गरेको थियो ।
उक्त आर्थिक वर्षमा अस्पतालले दुई करोड ३८ लाख ३४ हजार बचत गर्न सफल भएको कोषाध्यक्ष सविता भण्डारीको प्रतिवेदनमा उल्लेख छ । यस अस्पताल आगामी चैत ३० गते स्थापनाको ५० वर्षमा प्रवेश गर्दैछ ।
साधारणसभामा अस्पतालका संस्थापक प्राडा रामप्रसाद पोखरेलले देशमा आँखासम्वन्धी उपचार सेवा गुणस्तरीय र प्रभावकारी रहेकै कारण छिमेकी मुलुकका नागरिकसमेत ठूलो संख्यामा लाभान्वीत भएको बताए ।
उपाध्यक्ष दमन घलेले अस्पतालले अविछिन्न गुणस्तरीय सेवा प्रदान गर्ने अग्रणी संस्थाको गरिमा कायम गर्न सफल भएको प्रतिक्रिया दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कमलबहादुर खड्काले अस्पतालले प्रदान गरिँदैआएका आँखा उपचारसम्वन्धी विभिन्न गुणस्तरीय सेवाबारे जानकारी गराए ।
अस्पतालका संस्थापक सदस्य विश्वकान्त मैनाली, आजीवन सदस्य कृष्णप्रसाद भण्डारी, तेजूलाल चौधरीलगायतले अस्पतालको श्रीबृद्धिमार्फत आमजनताको सेवाका लागि सबैबाट सहयोगको अपेक्षा गरे ।