काठमाडौं । म्युजिक भिडियो सावित्री सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । रचना रिमालको स्वरमा रहेको गीतमा मिलन मोक्तानको संगीत रहेको छ । म्युजिक भिडियोमा महानायक राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, एलिशा शंकर लगायतका कलाकारको अभिनय रहेको छ ।
गीतमा एक मानव तस्करीमा परेकी महिलाको कथावस्तुलाई समेटिएको छ । कार्यक्रममा बोल्दै महानायक राजेश हमालले मानव तस्करीमा परेका मानिसलाई समाजमा आइसकेपछि समाजले स्वीकार गर्न सक्नुपर्ने बताए ।
उनले ह्युमन ट्राफिकमा पर्ने मानिसको मानसिकता परिवर्तित हुनसक्ने भएकाले समाजले उसलाई स्वीकार गरेर भविष्यको बारेमा बुझाउन सक्नुपर्ने बताए । उनले कुनैपनि कारणले समस्यामा परेको मानिसलाई समाजमा जीवन बिताउनका लागि पुनः समाजले हौसला दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अग्रज अभिनेत्री मिथिला शर्माले मानव तस्करीको कथावस्तु समाजले थाहा पाएर पनि नबुझेजस्तो गर्ने भएकाले गीतको माध्यमबाट यस्ता विषयको उठान गर्नु राम्रो भएको बताइन् ।
उनले भनिन्, ‘सबैलाई थाहा भएर पनि थाहा नपाए जस्तो गर्ने कथावस्तु हो । जसले यो विषयवस्तुलाई अंगाल्न पनि चाहँदैन । सुन्न पनि हिच्किचाउँछ । समाजमा खुलेर कुरा गर्न पनि चाहँदैन । त्यस्तो विषयवस्तुलाई संगीतको माध्यमबाट समाजमा उपलब्धि हुनसके त्यो भन्दा ठूलो कुरा केही हुँदैन । यस्ता अभियानहरु हामीले तत्काल परिवर्तन गर्न सक्दैनौँ, हामीले सुधार गर्न आवश्यक छ । हरेक समाज, सोच, व्यवहारमा परिवर्तन गर्न जरुरी छ ।’ अभिनेत्री शर्माले यस्ता विषयहरुको परिवर्तन बिस्तारै हुने भएको भन्दै राम्रो सोच व्यवहारमा ल्याउन जरुरी रहेको बताइन् ।