logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बाँकेमा किसानको धान खरिद सुरु

    बाँकेमा किसानको धान खरिद सुरु

    4.3K
    Shares
    बाँकेमा किसानको धान खरिद सुरु

    नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान आजदेखि खरिद सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ ।

    “पहिले जस्तो भीडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ”, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले भने ।

    उनले २५ हजार क्विन्टल धान खरिद हुने जानकारी दिँदै स्थानीय तहबाट वास्तविक किसान पहिचान हुनेगरी धान खरिद सुरु भएको उल्लेख गरे। खरिद गरिने धानमध्ये २० हजार छरुवा मध्यम र पाँच हजार मध्यम चामल हुने बताइएको छ ।

    “पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरुले मात्रै धान बेच्ने हुन्थ्यो तर अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद गरेका छौँ”, लामिछानेले भने। गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने लामिछानेले बताए ।

    किसानले धान बेच्नका लागि स्थानीय सरकारको सिफारिस पत्र अनिवार्य गरिएको र यसले किसानलाई थप उत्तरदायी र जिम्मेवार बनाउने उनको भनाइ छ । किसानको धान एक जनाले ३० क्विन्टलसम्म बेच्न पाउने प्रावधान रहेको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका वरिष्ठ गुण नियन्त्रक सहायक रोशन श्रेष्ठले गुणस्तर मापदण्डलाई ध्यान दिएर किसानको धान खरिद हुने जानकारी दिँदै उपकरणबाट परीक्षण गरेर धान भिजेको पत्ता लाग्ने बताए ।

    उाले गुणस्तरीय धानको मात्रै खरिद हुने जानकारी दिँदै धानलाई सफा गरेर बेच्न ल्याउन किसानलाई आग्रह गरे । सरकारले यस वर्ष मोटा धानको समर्थन प्रतिक्विन्टल मूल्य दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ तोकेको छ । तर केही किसानले बाध्य भएर सस्तोमा धान बेचेका छन् ।

    खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर प्रतिक्विन्टल दुई हजार चार सय चारमा बिक्री गरेका थिए । धानखेती भएका क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार एक सय दुई मेट्रिकटन धान उत्पादन भएको बताइएको छ । धान खरिद तीन महिनासम्म हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend