चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको छ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूको कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार उनीहरूबाट ७६ लाख ७५ हजार दुुई सय ८१ उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४/०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् ।
कालोसूचीमा पर्नेमा दुई सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्र्ति, यातायात, सिँचाइ एकरएक वटा ग्राहक कालोसूचीमा रहेका छन् ।
कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उनले बताए । यस केन्द्रअन्तर्गत ६३ हजार नौ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट ३७ करोड ६४ लाख ४४ हजार एक सय ३३ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको १३ करोड ७७ लाख ८२ हजार एक सय ५४ रहेको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्कअनुसार सडक बत्तीको नौ करोड ५८ लाख ८९ हजार पाँच सय ३५ बक्यौता रहेको छ । व्यावसायिक भवनको एक करोड ५३ लाख ६२ हजार तीन सय ७८, गैरव्यावसायिक एक करोड २७ लाख छ हजार चार सय १९, औद्योगिक क्षेत्रको दुई करोड ९९ लाख ४३ हजार छ सय ५६ बक्यौता रहेको छ ।
चालु आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले नौ सय तीन ग्राहकको लाइन काटिदिएको छ । उनीहरूबाट तीन करोड १२ लाख ९१ हजार चार सय १६ असुली गर्नुपर्ने रहेको छ । तीमध्ये आठ सय ५२ जनाले पुनः जडान गरेका छन् । उनीहरूबाट दुई करोड ७७ लाख ८३ हजार दुई सय ३७ असुली गरिएको छ ।