पोखरा । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरूलाई ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् ।
यसअघि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार बस्याललाई शपथ गराएका थिए । शपथग्रहण समारोहमा सदस्यहरू निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय एवं जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए ।
साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सदस्य सहभागी भएका थिए । प्रदेश प्रमुख गुरुङले यही पुस १८ गते गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।
समृद्धि र विकास नै प्राथमिकतामा
शपथग्रहणपछि सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशको समृद्धि र विकास नै आफूहरूको प्राथमिकतामा रहेको बताए । सबै तहका सरकारको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उनले यी निकायबीचको सम्बन्ध राम्रो हुनुपर्नेमा जोड दिए।
सदस्य डिल्लीराम सुवेदीले विद्यार्थी आन्दोलनको स्मरण गर्दै आफू सडक आन्दोलनको मोर्चाबाट सदनमा आएको चर्चा गरे। शपथसँगै प्रदेशको समृद्धि र विकासका लागि जिम्मेवारी थपिएको बताउँदै उनले जनताको भावनाअनुसार अघि बढ्ने बताए ।