सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका ज्येष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशक समेत दिएका छन् । नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम ७ बमोजिम सभामुखको निर्वाचनका लागि पुस २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो । प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान गरेका छन् ।
सभाको विशेष समयमा बोल्दै शुभ कामना आदान प्रदान गर्ने प्रदेश सभा सदस्यले प्रदेशको विकासका लागि सामूहिक एकता हुनुपर्ने, वेरोज्गारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, प्रदेश प्रति जनताको भरोसा दिलाउने काम गरिनुपर्ने, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन् ।
प्रदेश सभाको विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य शिवराज भट्ट, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दिर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवि विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामनासहित आफ्ना धारणा राखेका थिए । प्रदेश सभाको अर्को बैठक पुस २८ गते दिउसो एक बजे बस्ने छ ।-न्युज कारखाना