logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • माघ २ मा मधेस प्रदेशसभा सभामुखको निर्वाचन

    माघ २ मा मधेस प्रदेशसभा सभामुखको निर्वाचन

    3.5K
    Shares
    माघ २ मा मधेस प्रदेशसभा सभामुखको निर्वाचन

    धनुषा । मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए ।

    उनले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिए ।

    बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । मनोनित सदस्यहरुमा सांसदहरु रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन् ।

    सभालाई प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोजकुमार यादव र अधिवेशन प्रारम्भ भएको अवसरमा विभिन्न दलका १४ जना प्रदेशसभा सदस्यले मन्तव्य व्यक्त गरेका थिए ।

    त्यस अवसरमा मुख्यमन्त्री लालबाबु राउतले संविधानको कार्यान्वयन र सङ्घीयताको संस्थागत विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्ने बताए । उनले सङ्घीयतालाई बोझको रुपमा चित्रित गर्दै यसलाई बोक्न सकिन्न भन्नेहरुका विरुद्ध मधेस प्रदेशका सबै दलले एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए ।

    पूर्वसभामुख यादवले अघिल्लो प्रदेशसभाको अन्तिम अधिवेशन हतारमा अन्त्य गरेकाले आफूले धन्यवादसम्म भन्न नपाएको गुनासो गर्दै आगामी दिनमा दलहरुको सहमतिमा मात्रै अधिवेशनको आह्वान र अन्त्य हुनुपर्ने बताए । उनले अघिल्लो सरकारले जनताको पक्षमा गर्न नसकेका काम आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे ।

    सभामा मन्तव्य राख्ने अधिकांश सांसदहरुले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मधेश प्रदेशका आवश्यकता पूर्ति र विद्यमान समस्याको समाधान गर्न पार्टीभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने धारणा राखेका थिए । सभामा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, वसन्तप्रसाद कुशवाह, जितेन्द्रप्रसाद सोनार, युवराज भट्टराई, बेची लुङ्गेली, कञ्चन बिच्छा, बिमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह, अनिरुद्धकुमार सिंह, केशव राय, प्रमोदकुमार जयसवाल, र सुनिताकुमारी साहले सम्बोधन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी माघ २ गते बस्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend