मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न माधव नेपालको निर्देशन

नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने उनको भनाई थियो । अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको बताए ।

उनले भने, ‘यो बैठकमा सबैले खुलेर आफ्नो विचारहरु व्यक्त गर्नु भएको छ । आफूलाई लागेका सबै कुराहरु यहाँ राख्नु भएको छ । विचार व्यक्त गर्नुु भएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु ।  के कुरामा हामी प्रतिवद्ध हुनु पर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔं । जे–जे लागेको छ कमिटीमा राखौं । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरु बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि, हामी अनुशासन तोड्ने, फेरी हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाई बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैं ठूलो हुुने तरिका बन्द गरौं ।’

अध्यक्ष नेपालले पार्टी कमिटी भित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend