भरतपुर । भरतपुर अस्पतालले स्वेतपत्र जारी गरेको छ । आज बुधबार अस्पतालका नवनियुक्त अध्यक्ष राजु पौडेलले सेवा, सुविधा, जनशक्ति, पूर्वाधार लगायतका विवरण सहितको स्वेतपत्र जारी गरेका हुन् ।
अस्पतालमा गत आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ५२ हजा ८९४ जनाले बहिरंग (ओपिडि) सेवा लिएको देखिन्छ । आकस्मिक कक्षमा २७ हजार ६१७ जना र २६ हजार ८४० जनाले भर्ना भएर सेवा लिएका छन् । अस्पतालका ६०० शैयामध्ये ७८.६१ प्रतिशत अक्युपेन्सी गत आर्थिक वर्षमा छ । अस्पतालमा भर्ना हुने बिरामीको सरदर बसाई ४ दिन हुने गरेको श्वेतपत्रमा उल्लेख छ । यसैगरी अस्पतालमा मृत्युदर, ०.९१ प्रतिशत, शल्यक्रियासँग सम्बन्धित मृत्युदर ०.१ प्रतिशत रहेको छ ।
सरकारी दरबन्दीको न्यून कर्मचारी, बिरामीको अनुपातमा पर्याप्त जनशक्ति र उपकरण अभाव रहेको स्वेतपत्रमा उल्लेख छ । पूर्वाधार र जनशक्ति अभावले जनअपेक्षित सेवा प्रवाह हुन नसकेको र त्यसतर्फ कदम चाल्नुपर्ने देखिएको छ ।
गुरुयोजना अनुसारको काम हुन नसक्नुले पनि सेवा प्रभावित भएको अध्यक्ष पौडेलको भनाई छ । उनले सरकारी ५०० बेड अनुसार १ हजार ८४ दरबन्दी स्वीकृत गराउनु पर्ने भन्दै मेडिकल कलेज वा प्रतिष्ठान बनाउन संस्दबाटै ऐन पास गर्नु महत्वपूर्ण विषय भएको बताए ।
सार्वजनिक खरिद ऐन अनुसार औषधि खरिद प्रक्रियाले टेण्डर नै नपर्ने समस्याले फार्मेसीमा पर्याप्त औषधि नहुने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बताए। उनले भने, कम चल्ने औषधिहरुको टेण्डर नै पर्दैन टेण्डर परेकाहरुले पनि समयमा औषधि नदिंदा समस्या हुन्छ । समयमा आपूर्ति नगर्ने १० वटा सप्लायर्सलाई कारवाही गरिसकिएको पनि प्रा। डा। कृष्णप्रसाद पौडेलले जानकारी दिए ।